इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रधानमन्त्री पद जोगिएको छ । उनले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्लीबाट विश्वासको मत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत पाउन सफल भएका छन् ।
यसबाट उनले आफ्नो पदमात्र जोगाएनन्, आफ्नो कार्यकालमा लोकप्रिय रहेको समेत प्रमाणित गरेका छन् । राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिबेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्न विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएपछि उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको बताइएको छ । तल्लो सदनमा सत्तारुढ पार्टीको बहुमत छ ।