पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी बन्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा एक कार्यक्रम आयोजना गरि दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई घोषित गरेको हो ।

उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटाले पाए । अवार्डसँगै पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस १८औँ संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।

पिपल्स च्वाइस विधाको अवार्ड टेबुलटेनिस खेलाडी एलिना महर्जनले जितिन् । खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएको यस विधाको मनोनयनमा एलिनासँगै फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल थिए । एलिनाले अवार्ड सहित पल्सर मोटरसाइकल पुरस्कार जितिन् ।

मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन् ।

मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । ‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरिएको छ । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए ।

वर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीले पायो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।