पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट उनी स्वयमः निस्कासनमा परेका छन् । विरलै हुने यस्तो घटना हुने पार्टी घोषणा गरेको एक सातामै भएको हो । गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर आफूहरूलाई देखाएर गौतमले जथाभावी गर्न खोजेको आरोप लगाउँदै चार वटै पार्टीले उनलाई निष्काशन गरेको विज्ञप्ती निकाल्दै जनाएका छन् ।

गौतमलाई हटाएर उनको ठाउँमा समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफललाई नेतृत्व घोषणा समेत गरिएको छ । सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेकाले गौतमलाई कारबाही गरेको ती पार्टीको भनाई छ ।

सम्पूर्ण बामपन्थी र समाजवादी शक्तिलाई एक ठाउँमा जोड्ने गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरिएकोमा सत्ता र शक्ति र पदका लागि बार्गेनिङको माध्यम बनाइएको समेत आरोप उनीमाथि लागेको छ । अभियान घोषणापछि उनले केपी ओली, प्रचण्ड र माधव नेपाललाई भेटेका थिए । यसबाट अभियान भित्रका गुटहरु असन्तुष्ट बनेका हुन् ।