नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने

काठमाडौं । विदेशबाट नेपाली नागरिकको उद्दार हुने अवधिभर त्रिभुवन विमानस्थल सुरक्षाको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । विमानस्थलबाट यात्रुलाई होल्डिंग सेन्टरसम्म लैजाने, त्यहाँबाट सम्बन्धित स्थानीय तह र होटेलसम्म लैजाने जिम्मा पनि सेनाले पाएको हो । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उद्दार उडानको समयमा विमानस्थल भित्रका सबै गतिविधिलाई सेनाले नियन्त्रण गर्नेछ ।

सरुवा रोगको संक्रमणसँग सम्बन्धित विषय भएकाले गोल्डेन गेटबाट सर्वसाधाणलाई समेत प्रवेश रोक लगाइने भएको छ । आज बर्माबाट सैन्य जहाजले नेपालीलाई काठमाडौं ल्याउने तयारी छ । सो जहाजले नेपालमा रहेका बर्मेली नागरिकलाई स्वदेश फर्काउँदैछ । आज अन्य मुलुकबाट पनि उडानको तयारी भएपनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई घर फर्काँदैछ । खाडी मुलुकहरुबाट मात्र २५ हजार भन्दा बढी तत्काल घर फर्कने अवस्था रहेको बताइएको छ । विदेशबाट आउने मानिसको तथ्यांक संकलनको काम भने परराष्ट्र मन्त्रालयबाट भइरहेको छ ।