पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो

पाल्पा । पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेको छ । राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाई छ ।

पाल्पा जिल्लाभर एक दर्जनभन्दा बढी ढाका उद्योग रहेको तथ्यांक छ । ती ढाका उद्योगमा एक हजारभन्दा बढीले काम गरिरहेको व्यवसायीले बताएका छन् । पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा सहयोग पु(याउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताएका छन् ।