पाल्पा र डोटीमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, दर्जनौं घाइते

फाइल तस्वीर

पाल्पा\डोटी । डोटी र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ । दर्जनौं व्यक्ति घाइते छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । भारतबाट नेपाल आएका नागरिक आफ्नो घर फर्कने क्रममा सवारी दुर्घटनामा परेका हुन् ।

कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते छन् । मृतकको पहिचान खुलिसकेको छैन । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

उता, पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङको ज्यान गएको छ ।

निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ जना घाइते छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको छ ।