पीसीआर नेगेटिभ रिर्पोट आएका सांसद कोभिड अस्पतालको आइसीयूमा भेटिएपछि…

पोखरा । बुधबार गण्डकी प्रदेशसभामा मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल जारी थियो । त्यसअगाडी राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएकी थिइन् ।

प्रदेशसभामा उनको महत्व यस आधारमा थियो, किनकी उनी मात्र अनुपस्थित हुँदा पनि मूख्यमन्त्री गुरुङलाई बहुमत पुग्थ्यो र अविश्वासको प्रस्ताव असफल हुन्थ्यो । सोहीकारण चलखेल हुन सक्ने सम्भावनातर्फ विपक्षी दल निकै सचेत थिए ।

तर, अचानक सांसद शाही वेपत्ता भएपछि प्रदेशसभामा हंगामा मच्चियो । उनको खोजी शुरु भयो, अन्ततः सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड १९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिए । तर, उनको मंगलबार गरेको कोरोना परीक्षणमा भने नेगेटिभ रिजल्ट आएको छ ।

प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् । मंगलबार प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको र अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको विषय भने बाझिएको छ ।

यसबारे बुझेर मात्र पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने प्रतिक्रिया जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएका छन् । जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएसँगै प्रदेश सभाको बैठक अर्को सूचना नआउँदासम्म स्थगित भएको छ ।