पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

Photo : BBC

काठमाडौं । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीको पुनः श्रम स्वीकृति विदेशबाटै लिन सक्ने गरि सहजिकरण गरिएको छ । तर, पुनः श्रम स्वीकृतिका लागि पनि बायोमेट्रिक दर्ता भने अनिवार्य छ । श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन समेत बायोमेट्रिक दर्ता अनिवार्य रहेको भन्दै वैदेशिक रोजगार विभागले त्यस्तो दर्ता नभएका कामदार भने नेपाल मै आउनु पर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक नगरेकाले श्रम नवीकरणका लागि नेपाल आउनुुपर्ने भएको हो ।

बायोमेट्रिक दर्तामा विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठा छापको फोटो मेसिनले स्क्यान गरेर अनलाइनमा राखिन्छ । विभागमा बायोमेट्रिक दर्ता गरेर गएका श्रमिकले भने अनलाइनबाट आफू रहेको मुलुकबाटै दुुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सक्छन् ।

विभागले अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् वा भौतिक रूपमा उपस्थित भएर लिँदा होस् अनलाइनमार्फत अनिवार्य टोकन लिन समेत सरोकारवालालाई आह्वान गरेको छ । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विभागले श्रम स्वीकृति लिँदा अनलाइनबाट टोकन लिने व्यवस्था अनिवार्य गरेको जनाएको हो । विभागका अनुसार भौतिक रूपमा श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।