पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय टीमको प्रशिक्षक बने

काठमाडौं । श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले शनिबार पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको हो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको छ ।

गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो । क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । अब नेपालले २०२२ फेब्रुअरीमा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।