काठमाडौं । पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्।
उनले बुधबार जिल्ला प्रशासन कार्यालय (काठमाडौं) पुगेर वंशजका आधारमा नागरिकता बनाएकी हुन्।
छोरी कृतिकाको नागरिकतामा पूर्वयुवराज्ञी हिमानी शाहले सनाखत गरेकी हुन्। त्यसका लागि उनी छोरीसँगै काठमाडौं जिल्ला प्रशासनको कार्यालय पुगेकी थिइन्।
यसअघि जेठी छोरी पूर्णिकाको नागरिकतामा पनि हिमानीले नै सनाखत गरेकी थिइन्। पूर्वयुवराज पारस भने दुवै छोरीको नागरिकता बनाउँदा जिल्ला प्रशासन गएनन्।
संविधानमा बुवा वा आमामध्ये एकको नामबाट नागरिकता लिन सकिने प्रावधान छ।जानकारका भनाइमा पहिले राजपरिवारलाई संविधानभन्दामाथि राखिएको थियो। त्यसैले उनीहरूले नागरिकता लिइरहनुपर्थेन।
तर संविधान सभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै नेपालीलाई समान मानिएको छ अर्थात् संविधानमुनि राखिएको छ।
यसअनुरूप पारस र हिमानीले पनि नेपाली नागरिकता लिइसकेका छन्।