पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण आफ्नो जन्मोत्सव नमनाउने घोषणा गरेका छ । यसअघि हरेक जन्मदिनमा उनलाई शुभकामना दिन समर्थकको ठूलो भिड लाग्ने गर्छ । सोहीकारण शाहले बुधबार एक विज्ञप्ती निकाल्दै जन्मोत्सव नमनाउने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण जनताले भोग्नुपरेको समस्या समाधान गम्भीर हुन सरकारको भने ध्यानाकर्षण गराएका छन् ।

कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका उनले संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले चुनौतीसँग अवसर पनि आएको भन्दै विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउन आग्रह गरे ।

उनले राष्ट्रियता तथा अन्य विषयमा समेत चासो राखेका छन् । हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबारकिन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्ने प्रश्न राख्दै उनले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भन्ने सवाल समेत खडा गरेका छन् ।

रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ भन्दै उनले शासकहरुबाट जवाफ मागेका छन् ।

भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै उनले यी विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिक सडक संघर्षमा उत्रिरहनु किन परेको भन्ने प्रश्न उनले राखेका छन् ।

आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजाले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने उल्लेख गरेका छन् ।