पूर्वरानी कोमल शाह डिस्चार्ज

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छिन् ।

अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोनाभाइरस संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु अस्पताल भर्ना भएका थिए ।

पूर्वराजा शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । पूर्वरानीलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो ।

प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको नर्भिकले जनाएको छ ।