पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ । ललितपुर सानेपास्थित घरमै उनको सोमबार हत्या भएको हो ।

उनको घरमा काम गर्ने कामदार विजय चौधरीले समेत घरमै झुण्डिएर आत्महत्या गरेका छन् ।

कार्कीको हत्या चौधरीले नै गरेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कार्कीको निवासमा जडान गरिएको सीसीटीभी क्यामराको फूटेजमा चौधरीले कार्कीको घाटीमा समातेको देखिएको प्रहरीले जनाएको छ ।

चौधरीले शुरुमा पिर्काले हिर्काएर भुईमा ढलाएको र त्यसपछि कपालमा समातेर भूईमा टाउको बजारेर विभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

कार्कीलाई हत्या गरिसकेपछि चौधरी स्वयमले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

२२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेका हुन् । भान्छा छेऊ रहेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्यबाट कामदारले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

तर, कारणबारे भने खुलेको छैन । चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेर पालेर हुर्काएको पाइएको छ ।

प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की भने घरमा थिएनन् । उनी बिहानै पशुपतिनाथ दर्शनमा निस्किएका थिए ।

फर्किएर घरमा आउँदा श्रीमती मुना अचेत अवस्थामा रत्ताम्य फेला परेकी थिइन् भने कामदार विजयले आत्महत्या गरेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल मुलालाई अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।