काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । अब नेपालमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड राखेको छ । राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेल, मटितेल प्रतिलिटर रु. ३ ले बढेको हो । पेट्रोल १४२ र मटितेल १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो । आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी विक्री मूल्य रु. ११६ पुगेको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर विक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको छ । एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर रू. ८१. ६२ ले घटेर आएता पनि अझै निगमलाई प्रतिसिलिण्डर रू.५६०.०९ घाटा हुँदा समेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमले जानकारी गराएको छ । यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब रू.२ अर्ब २३ करोड घाटा कायम हुन निगमले जानकारी गराएको छ ।