पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो

काठमाडौं । नेपालमा पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल आयल निगमले शनिबार रातीबाट लागु हुने गरि बढाएको मूल्य अनुसार मूल्य सबैभन्दा माथिल्लो विन्दुमा पुगेको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ । यसअघि निगमले माघ १८ मा मूल्य बढाएको थियो ।

नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको र सोही अनुसार भारतीय आयल कर्पोरेशनले मूल्य बढाएपछि त्यसको मारमा नेपाली उपभोक्ता समेत परेका छन् । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।