पेट्रोल पम्पले बोतल र जर्किनमा इन्धन बेचेमा कारवाही हुने

काठमाडौं । मंगलबार राजधानीमा एक जनाले आत्मदाहको प्रयासमा आफैलाई आगो लगाए । सो घटनापछि प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई सचेत गराएको छ । काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले उल्लेख गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ। जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ ।