पेरिस ओलम्पिक २०२४ एसिया छनोट : पहिलो पटक नेपाल र भियतनाम भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज पहिलो पटक भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीच दशरथ रङ्गशालामा बुधबार पहिलो खेल हुन लागेको हो । भियतनाम फिफा वरीयतामा नेपालभन्दा निकै माथि छ । नेपालको लक्ष्य भने भियतनामलाई हराउनु रहेको छ ।

नेपाली टोलीकी कप्तान एवं गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेकोले जितका लागि खेल्ने बताएकी छिन् । ‘‘वरीयता आफ्नो ठाउँमा छ । हामी जित्नकै लागि उत्रने छौँ,’’ उनले भनिन् । भियतनाम फिफा वरीयतामा ३३औँ र नेपाल एक सय स्थानमा छ ।

भियतनामका प्रशिक्षक माइ डक चुङले आफ्नो टोली लामो यात्रापछि नेपाल आएर फुटबल खेल्न उत्साहित रहेको बताए । ‘‘नेपालसँग यसअघि कहिल्यै खेलेको छैन । घरेलु टोलीसँग खेल्न गाह्रो हुन्छ । तरपनि हामी जित निकाल्न मिहेनत गर्नेछौँ,’’ चुङले भने । उनले नेपाली टोलीमा स्ट्राइकर सावित्री भण्डारी राम्रो रहेको सुनेको र उनलाई रोक्दै खेल्ने रणनीति बनाएको समेत बताए । छनोटका लागि यसअघि समूहमा रहेका प्यालेल्टाइन र अफगानिस्तानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुन लागेको हो । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।