पेरिस । फ्रान्स सरकारले आजबाट लागु हुने गरी १ महिले लामो लकडाउन घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा फ्रान्सको राजधानी पेरिस छाड्ने मानिसको अत्यधिक संख्या सडकमा निस्किएपछि ७ सय किलोमिटर भन्दा बढी लामो ट्राफिक जाम भएको छ । बीबीसीका अनुसार ग्रामिण भेगबाट राजधानी शहर पेरिसमा आएर बसेका धेरै मानिस गाउँ फmर्कन गाडी लिएर सडकमा आएका थिए ।
फलस्वरुप सडकमा डरलाग्दो ट्राफिक जाम भएको हो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ । यसले पेरिसमा सम्भावित संकट देखेर धेरै मानिस गाउँ फर्कन चाहेका छन् । फ्रान्समा पछिल्लो केही दिनयता कोरोना सङ्क्रमित र त्यसबाट ज्यान गुमाउनेको संख्यामा गुणात्मक वृद्धि भएको छ ।
बिहीबार मात्र यहाँ साढे ४७ हजार मानिसमा सङ्क्रमण पुष्टि भएको छ । २ सय ५० जनाको ज्यान गएको छ । फ्रान्समा अति आवश्यक काम नपरी अब मानिस घर बाहिर जान पाउने छैनन् । फ्रान्समा अधिकांश अस्पतालका बेड भरिभराउ भइसकेको र आइसीयु बेडको समेत अभाव शुरु भएको बताइएको छ ।