पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याएर पछि फिर्ता गर्ने प्रक्रिया पुरा गर्न नसकेपछि मल ल्याउन पुनः नयाँ प्रक्रियामा जाने निर्णय गरेको छ । अब बंगलादेशबाटै जीटूजीमार्फत रासायनिक मल खरिद गरिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको छ । बंगलादेशबाट मल पैंचोमा ल्याउन दुई मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता समेत भएको थियो । वार्तामा सहमति जुटेपछि मन्त्रालयस्तरबाट प्रक्रिया अगाडी बढेको थियो ।

तर, अन्तिममा सो प्रक्रिया समेत अवरुद्ध भएको छ । बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेको मन्त्रालयका अधिकारीहरुको भनाई छ । सोहीकारण सरकारले खरीद नै गर्ने निर्णय गरेको हो ।

साथै सरकारले अब नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । यसअघि एक अध्ययनमा नेपालकै विजुली खपत गरी मल उत्पादन सम्भव भएको निष्कर्ष निकालेको थियो ।