पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’

काठमाडौं । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ सम्म पोखरामा चल्ने छ ।
८० अन्तर्राष्ट्रिय क्रेता, ७० विक्रेता र ७५ प्रदर्शक सहित ६ सयभन्दा बढी सहभागी हुने बोर्डले जनाएको छ ।

एक्स्पो पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार तथा सरोकारवालाको संयोजनमा भइरहेको हो । तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवसँगै नेटवर्किङ र व्यापार अवसर प्रदान गर्ने समेत बोर्डले जनाएको छ ।

नाइसले ट्राभल ट्रेड संगठनबीचको सम्पर्क, छलफल गर्न र तीन देशमा पर्यटकीय गतिविधि वृद्धि गर्न सँगै काम गर्ने प्रशस्त अवसर प्रदान गर्नुका साथै नेपाल भ्रमण गर्ने क्रेता र अन्तर्राष्ट्रिय प्रतिनिधिलाई प्रि–एक्स्पो गन्तव्य अनुभव यात्रा अवसर समेत दिएको बोर्डको भनाइ छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले नेपालमा पहिलो पटक आयोजना भइरहेको त्रिदेशीय पर्यटन एक्स्पो केवल एक कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताए ।

एक्स्पोले विश्वका दुई ठूला आउटबाउन्ड पर्यटन बजार भारत र चीनलाई नेपालमै एकत्रित गराउन सम्पूर्ण पर्यटन क्षेत्र एकजुट भएर अगाडि आएको उनले बताए । ‘नाइस फर माइस एन्ड मोर’ भन्ने नारासाथ आयोजना भएको एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभई माइस पर्यटन ९बैठक, सभासम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी० का लागि आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने भएको छ ।

नाइसको दोस्रो दिन फेब्रुअरी २५ मा द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाइट्स ः सपोर्टिङ द टुरिज्म इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ र अन्य महत्त्वपूर्ण विषयवस्तुमा पर्यटन विशेषज्ञसँग ज्ञान आदान प्रदान गराउने छ । फोरमबाट पर्यटन उद्यमी, विशेषज्ञ र साझेदारबीच छलफल, अनुभव आदान प्रदान गर्न, उत्पादित सेवा समकालीन बजारको ज्ञान हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने छ ।

नाइसको तेस्रो दिन निर्धारित तालिका अनुसार बीटूबी एक्स्पो बिजनेस मिटिङ र नेटवर्किङका लागि बाटो खुल्ने जनाइएको छ । एक्स्पोको उद्देश्य दुई उदीयमान आर्थिक समृद्ध र पर्यटकीय हिसाबले शक्तिशाली देश भारत र चीनबाट बढिभन्दा बढी पर्यटक नेपाल भित्र्याउने रहेको छ । ती देशबाट अपार पर्यटन सम्भावना र एकीकृत व्यापार प्रवद्र्धनका लागि अवसर प्रदान गर्ने लक्ष्य लिइएको छ । यस कार्यक्रमले तीन देशबीच विशेषगरी पर्यटन, आतिथ्य र सम्बन्धित उद्योगका क्षेत्रमा व्यापारिक सञ्जाल र सहकार्य अभिवृद्धि गरी व्यापार सम्बन्धलाई थप सुदृढ गर्न मद्दत पुग्ने पर्यटन बोर्डले जनाएको छ ।