पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आएको छ ।

हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधासहित विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा अबको ४२ दिनपछि पोखरामा अन्तर्राष्ट्रिय उडान–अवतरण हुनसक्ने बताएको छ ।

प्राधिकरणले सार्वजनिक एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई आफ्ना जहाजमार्फत पोखरामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएको छ ।

एआईपीले पोखरामा उडान गर्न चाहने हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको बाटो खोलेसँगै उडान अनुमतिको प्रक्रियामा सहजै आउने अपेक्षा प्राधिकरणको छ ।  एआईपीमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज पोखरामा उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाउने छन् ।

एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को विज्ञ टोलीले विमानस्थल प्राविधिक हिसाबले ठीक छ कि छैन भनी गरेको यान्त्रिक परीक्षण उडानको पूर्ण प्रतिवेदनका आधारमा तयार पारिएको प्रतिवेदनले पोखरामा फागुन दोस्रो सातादेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडानको ढोका खोलेको  हो ।