काठमाडौं । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल)लगायतको सहभागि भए ।
टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायातविज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र आयोजना व्यवस्थापक (पोखरा खण्ड) अमितकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । भेटमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडि बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए । महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडि बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
अहिले पोखरा खण्डको राइट अफ वे खाली गराउने काम सम्पन्न गरेको उनले जानकारी दिए । अभियानकै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको र अब केही स्थायी संरचना हटाउन बाँकी भन्दै उनले मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचना तत्काल हटाइने उनले बताए ।
हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको र काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको प्रमुख आचार्यले बताए । एसियाली विकास बैंकको सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।
सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल दुुई–दुुई लेनको दुइटा पुल बनाउन रु एक अर्ब सात करोडमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चारवटा ठूला र १२ साना पुल बन्नेछन् । राससको सहयोगमा