पोखरा–मुग्लिन सडक बिस्तार धमाधम, यस्तो बन्दैछ राजमार्ग

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका– १२, कमलबारी र घाँसीकुवामा चार लेनमा विस्तार भएपछिको देखिएको नागबेली सडक। तस्बिरः सागर गिरी\रासस

१८ जेठ, काठमाडौं । ८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको काम धमाधम भइरहेको छ । सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का अनुसार अहिले कामले गति लिएको छ । यो आयोजनालाई दुई भागमा छुट्याएर काम भइरहेको छ । आँबुखैरेनी–जामुनेसम्म ४१.४५ किलोमिटरका काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ ।

जामुनेदेखि पोखरा पृथ्वीचोकसम्मको ३८.८८ किलोमिटर सडक विस्तारको काम भने आनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीबाट भइरहेको छ । पूर्वी खण्डको काम २०७७ वैशाखदेखि सुरु भएको हो भने पश्चिम खण्डको काम २०७८ भदौदेखि सुरु भएको हो । यो आयोजनामा भूगोल हेरेर २१ देखि ४५ मिटरसम्म सडक फराकिलो बनाउने लक्ष्य छ । आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा चिटिक्क देखिएको सडक । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा कालोपत्र करिब अन्तिम चरणमा पुगेको छ । तस्बिर: कृष्ण न्यौपाने / रासस

४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा आनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको हो । मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार यस सडक विस्तारका दौरान कुल २८८ स्थानमा कल्भर्ट बनाउनु पर्ने छ । कुल २९ वटा साना–ठूला पुल निर्माण गर्नुपर्नेछ । साइड ड्रेनतर्फ कुल १००.८५ किलोमिटर निर्माणको लक्ष्य छ ।