पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाजले उडान तथा अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । यो चार्टर्ड जहाज हो ।

जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १३० जना यात्रु रहने पर्यटन मन्त्रालयले जनाएको छ । जहाज ११ बजे काठमाडौं आउने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको हो । यहाँ हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको भएपनि पहिलो पटक ठूलो जहाज यात्रुसहित जान लागेको हो ।