पोखरा । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत पुरा भएको छ । निर्माण कम्पनीले आगामी अंग्रेजी नयाँ वर्षबाट विमानस्थलमा कम्तिमा आन्तरिक उडान शुरु गर्न सकिने जानकारी गराएको छ । बुधबार गण्डकी प्रदेशका मूख्यमन्त्री सहितका टीमले विमानस्थल निर्माणको भौतिक संरचनाबारे स्थलगत अवलोकन गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलमा भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।
यहाँ पेरिफेरी सडकमा ७० प्रतिशत र विमानस्थल वरिपरिको नाला निर्माण ९० प्रतिशत पुरा भइसकेको छ । विमानस्थलमा टर्मिनल एटीसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण पुरा भइसकेको छ । भवनमा रङरोगन तथा विद्युतीय उपकरण जडानको काम जारी छ । ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम पुरा भएका छन् । लाइटिङ, एक्सेस रोड, कार पार्किङ, तारबार लगाउने काम समेत पुरा भएको छ ।
पोखरा विमानस्थलको रुटमा पर्ने रिट्ठेपानी डाँडा कटानको काम भने रोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनिरहेको छ । यसको लागत २२ अर्ब रुपैयाँ हो । निर्माण चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण गरिरहेको छ ।