कल्पना घिमिरे
छिनछिनमा ‘न्यूजब्रेक एप’ हेर्यो, खुइया श्वास तान्यो । अम्मम ! अमेरिकामा आजमात्रै १ हजार २ सय ३२ ले ज्यान गुमाए ? संक्रमण कहिले रोकिएला ? कोठाभित्रै थुनिएर बढ्दो मृत्युको तथ्याङ्क हेरेरै दिन बितिरहेको छ । कोरोना भाइरस अमेरिका भित्रिएको महिना दिन भन्दा बढी भयो ।
आज ‘कन्ट्रोल’ होला कि, भोली पो होला कि भनेर छट्पटाउँदा छट्पटाउँदै १० हजार ८ सय ४८ जनाले ज्यान गुमाइसके । यतिबेला ३ लाख ६६ हजार ७ सय ८६ संक्रमितहरु बाँच्ने आशामा मृत्यसंग लडिरहेका छन् । अझ विश्वभरको तथ्याङ्क हेर्दा ७४ हजार ६ सय ६६ ब्यक्तिले कोरोना भाइरसका कारण ज्यान गुमाइसके भने १३ लाख ४६ हजार २ सय ५२ ब्यक्ति संक्रमित भइसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) लगायत संस्थाले तयार पारेको पछिल्लो अपडेट हो यो ।
यतिको मृत्यु, उति संक्रमित भनेर गिन्ती गरिरहन मन थिएन । मृत्युको समाचार सुन्दा र हेर्दाहेर्दै आँखा टट्याइसके । त्यसमाथी वरपरका आफन्त र इष्टमित्र नै बिरामी पर्न थालेको खबरले मन हुँडलिएको छ । कहिलेकाँही यो सबै सपना भैदिनु नि जस्तो लाग्छ । तर, यो सपना होइन । अब यही पीडा र छटपटिको वास्तविकतालाई स्वीकार्दै मनोबल उच्च बनाउनु छ । भोली आँफैलाई कोरोना लागिहाल्यो भने यसरी लड्छु भनेर तयारी गर्नुछ ।
उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएर घर फर्केका ब्यक्तिलाई हेरेर उर्जा बटुल्नु छ । उनीहरुको अनुभव सुनेर कसरी सुरक्षित रहने, सावधानी अपनाउने जान्नु छ र उनीहरुको खानपान, जीवनशैलीलाई पच्छ्याउनु छ ।
न्यूयोर्कमा बस्दै आएका भिडियोग्राफर शम्भु मोक्तान, अर्का ब्यवसायी जीबन बम र स्वास्थ्यकर्मी निमा शेर्पा उपचारपछि घर फर्किसकेका छन् । उच्च आत्मबिश्वासले नै आफु निको भएको उनीहरुको अनुभव छ । राम्रो सोचे र मनोबल उच्च राखे कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनीहरु नै हुन् । कोभिड–१९ पोजेटिभ देखिएपछि मोक्तान र बम न्यूयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पताल भर्ना भएका थिए । औषधि नभएका कारण ज्वरोको औषधि र ‘पेनकिलर’ चलाएर अस्पतालले उपचार गरेको थियो ।
उडसाइडमा बस्दै आएकी निमा शेर्पाको परिवार घरमै आइसोलेसनमा बसेर निको भएको हो । घरका सानातिना काममा आफुलाई ब्यस्त गराएर बिरामीभएजस्तो नगरी, एकछिन् पनि नसुती, झोलिलो खानेकुरा बेस्सरी खाएरै आफुले कोरोनालाई जितेको उनले बताइरहेकी छिन् । तातो पानीले नुहाउने, तातो पानी, झोलिलो खानेकुरा प्रस्तत पिउने, भिटामिन सी भएका खानेकुराको मात्रा बढाउने, सरसफाइमा ध्यान दिने सकारात्मक सोच्ने र आत्मविश्वास बलियो बनाउने हो भने कोरानालाई जित्न सकिने यीनीहरुको अनुभव छ ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु निको भएको खबरले अमेरिकास्थित नेपाली समुदायमा एउटा नयाँ आशा पलाएको छ । अब मृत्युको खबर होइन कोरोना लाग्दैमा मरिदैन भन्ने सन्देश फैलाउनु जरुरी छ । उपचार पछि निको भएर फर्केका ब्यक्तिहरुको अनुभव सुन्नु र सुनाउनु छ । उपचार सकेर घर फर्किएकाको भन्दा मृत्युकै समाचार पस्किन मिडियाहरु हतारिनु हुँदैन । केही मिडियाहरुले कोलोराडोमा उपचार गरिरहेका एक नेपालीको मृत्यु गराए । अर्का न्यूयोर्कमा उपचार गरिरहेका ब्यक्तिको मृत्यु भयो भन्ने खबर सार्वजनिक भयो । अस्पतालले नै सुचना गलत दिएको परिवारले बताउँदै आएको छ । परिवारले पनि यस्तो अवस्थामा आफ्नो मान्छेको मृत्युको खबर सामाजिक सञ्जालमा पोस्टिन हतार गर्नुहुन्थेन ।
हालसम्म विश्वभर २ लाख ७८ हजार ५ सय ३३ ब्यक्ति निको भएर घर फर्किएका छन् । अमेरिकामा १९ हजार ६ सय ६९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसको एन्टिबडी औषधि पत्ता नलागेको अवस्थामा पनि यति संख्यामा निको हुनुलाई राम्रो मान्नुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाहरु चिकित्सकको सल्लाह मान्दै सावधानी अपनाएरै निको भएका हुन् ।
कथा न्यूयाेर्ककाे
अमेरिकाको न्यूयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइट यतिबेला कोरोना भाइरसको मुख्य केन्द्र बनेको छ । म पनि ज्याक्सन हाइटमै बस्छु । घर भित्रै बसेर आफन्त इष्टमित्र बिरामी परेको खबर सुनिरहेको छु । मैले नजिकबाट चिनेको एकजना व्यक्तिलाई कोभिड–१९ पोजेटिभ देखिएकाले यतिबेला घरैमा आइसोलेनमा बसेका छन् । आज बिहान फोन गर्दा ‘२ दिन गाह्रो भयो अहिले त धेरै अथबा छ’ उनले बलियो आत्मविश्वास बोलेका थिए ‘अब त ठिक भैहाल्छु नि ।’ आफन्त इष्टमित्र बिरामी परेको बेला भेट्न पनि नपाउने कस्तो बिडम्बना । मैले नआत्तिन र केही गाह्रो साह्रो पर्ने बित्तिकै एम्बुलेन्स बोलाएर अस्पताल जान सुझाउँदै फोन राखें । धेरै संक्रमित ब्यक्तिहरु आँफै आइसोलेसनमा बसेर ठिक भइरहेका छन् ।
क्वीन्समा धेरैजसो नेपालीहरु अपार्टमेन्ट सेयर गरेर बस्छन् । एउटै अपार्टमेन्टमा २/३ परिवार सम्म बस्दै आएका छन् । उनीहरुको सुत्ने कोठा फरक/फरक भएपनि भान्छाकोठा एउटै हुन्छ । यसरी बसेका परिवार झनै बढी जोखिममा छन् । यस्तो अवस्थामा परिवारमा कसैलाई संक्रमण देखिए अन्य सदस्यहरुलाई कसरी सुरक्षित गर्ने ठूलो चुनौती छ । यस्तो अवस्थामा आँफै सचेत हुनु र सावधानी अपनाउनु जरुरी छ । नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ताहरुले सिङ्गो नेपाली समुदायलाई सचेत गराउनु जरुरी छ ।
हाल न्यूयोर्कमा सक्रिय कोरोना बिरुद्ध सचेतना तथा सहयोग समुहले बाहिर जान नसक्ने असक्त बिरामीहरुका लागि र कोभिड–१९ पोजेटिभ देखिएकालाई औषधि र अत्यावश्यक खाद्यान्न बस्तु घरघरमा पुर्याइरहेका छन् । सहयोगी समुहको मुख्य काम जनतालाई पोजेटिभ म्यासेज दिने, आत्मविश्वास दिलाउने, अत्यावश्यक सामाग्री घरघरमा पुर्याउने हो । बिरामीलाई परिवार र आफन्तले नै सहयोग गर्न नसक्ने अवस्थामा यो समुहले सकेको सहयोग गरिरहेको छ ।
हालसम्म कति नेपालीहरु संक्रमित भए भन्ने यकिन तथ्याङ्क छैन । सहयोग समुहले आफुहरुको सम्पर्कमा आएकाहरुलाई मात्र सहयोग गरिरहेको छ । सम्पर्कमा नआएका कति होलान् ? संक्रमितहरुको तथ्याङ्क संकलन काम गर्ने तयारी भइरहेको छ । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर सहितको समुहले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र महाबाणिज्यदूत पुष्पराज भट्टराईसंगको छलफलमा बिपद्को बेला सबै एकजुट भएर नेपाली समुदायलाई सहयोग गर्न सक्रिय रहने जनाएको छ । संक्रमित नेपालीको डाटा संकलन गर्ने, थर्मोमिटर, हेन्ड सेनिटाइजर, माक्स, टाइलनोल(ज्वरोको औषधि) जस्ता आत्यावश्यक सामाग्री जुटाउन न्यूयोर्क बाहिरको नेपाली समुदायलाई अनुरोध गर्ने, क्वारेन्टाइनको ब्यवस्थापनका लागि कानुनी प्रावधान खोज्ने लगायत सहमती भएको छ ।
त्रसित बातावरणलाई सहज ढंगले बुझ्न र बुझाउनका लागि परामर्शदाताहरु परिचालन गर्ने, नेपाल जान चाहाने बृद्धबृद्धाका लागि नेपाल पठाउन सरकारी तवरबाट पहल कदमी गर्ने, बेरोजगारी सुबिधा दर्ता, कानुनी परामर्श, चिकित्सा सम्बन्धी परामर्श, तथा सरकारी सुविधाका लागि तिब्रताका साथ काम गर्ने निर्णय गरेको छ ।
परिवारको एक जनामा संक्रमण देखिएमा त्यो ब्यक्तिलाई कहाँ राख्ने ? अस्पतालले घरमै आइसोलेसनमा बस्नु भनेर पठाएका बिरामी कहाँ बस्ने लगायत समस्याको समाधानका लागि समुहले न्यूयोर्क सिटिसंग मिलेर काम गरिरहेको छ । समुदायमा भएका राम्रा कामहरुबारे पनि जनतालाई सुचित गर्नुपर्छ । कसैलाई अफ्ठेरो परेमा सहयोग समुहमा सम्पर्क गर्न भनिएको छ । अमेरिकास्थित नेपाली राजदूतावासले पनि सम्पर्क गर्न भनेको छ । अमेरिकामा लकडाउन गर्ने कानुन नै नभएको भन्दै सरकारले हालसम्म लकडाउन गर्न सकेको छैन । तर, न्यूयोर्कका गर्भनर एन्ड्र्यू क्यूमोले घरैमा बस्न निर्देशन त दिएका छन् तर, सबैले उनको निर्देशन मानेको देखिन्दैन । अझैपनि न्यूयोर्कका मेट्रोहरु खचाखच भएको तस्बीरहरु सार्वजनिक भइरहेका छन् । सुपरमार्केटहरु खुला छन् र मान्छेहरु निर्धक्क किनमेल गरिहेका छन् । यस्तो अवस्थामा सुरक्षित हुन आँफु र परिवार सचेत भएर सावधानी अपनाउनु जरुरी छ । बाहिर निस्कदैं ननिस्कने हो भने संक्रमणको जोखिम कम हुन्छ । सकारात्मक सोच र दृढ आत्मविश्वासका अगाडि कोरोना हार्नेछ ।