काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारका लागि डाकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ।
आन्तरिक विवादमा फसेको कांग्रेसको कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेता अनुपस्थित भएपछि बैठक स्थागित भएको हो ।
विवाद समाधानको प्रयास भने जारी रहेको नेताहरुले जानकारी दिएका छन् । शीर्ष नेताहरु नै आन्तरिक छलफलमा जुटेका कारण बैठक स्थगित गर्नु परेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
अर्को बैठक पुस ४ मा डाकिएको छ । बुधबार सिटौला र पौडेलबीच पौडेल निवास बोहोराटारमा छलफल भएको छ ।
सभापति देउवा आफै र उनका सहयोगी उपसभापति विमलेन्द्र निधिले समेत पौडेललाई फकाउने प्रत्यत्न जारी राखेका छन् ।
पौडेल पक्षले १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका नल्याएसम्म बैठकमा सहभागि नहुने अडान लिएर बैठक बहिस्कार गरिरहेको छ ।
पार्टी सभापति देउवा पक्षधर नेताहरु भने पार्टीको संगठन संरचना पूरा भएपछि मात्रै अधिवेशनको निर्वाचन कार्यतालिका ल्याउने अडानमा छन् । सोहीकारण विवाद मिल्न सकिरहेको छैन ।