काठमाडौं । नेपालमा पौने ४ अर्ब बराबर कर छलिको अभियोगमा बहुराष्ट्रिय कम्पनी कोकाकोला र संचालकविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको अभियोगमा शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रूपैयाँ माग्दै विभागले मुद्दा दायर गरेको हो। विभागले सञ्चालकहरूसमेत गरी १७ जनालाई प्रतिवादी बनाएको छ।
बोटलर्स नेपाल लिमिटेडसमेत रहेको उक्त मुद्दामा कोकाकोलाका अध्यक्ष सुक्ला वासन, निर्देशकहरू मोहम्मद अमिन घोनेइम, मेल्भिम तान चुन पिङ, गौरब खोस्ला, सुन्दीप बावझरिया, देबब्राटा मुखर्जी, सुमानता दत्त, जावहर सोलाई कुप्पुस्वामीलाई प्रतिवादी बनाइएको विभागले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक, आर्थिक कारोबार तथा लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका ८ जनालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।
प्रबन्ध निर्देशक प्रदीप पाण्डे, पुनित चन्द्रपाल भर्साने, फाइनान्स म्यानेजर राजीभ टण्डन, भरतबाबु दाहाल, सुमित गोयल, फाइनास्स कन्ट्रोलर अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रेती र चार्टर्ड एकाउन्टेन्ट सञ्जीवकुमार मिश्र रहेका छन्। पौडेलका अनुसार बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोलाको एसिया (कोकाकोला साबको)को शतप्रतिशत सेयर हस्तान्तरण हुँदा कर छली भएको अभियोग लागेको हो ।
२०७१ कात्तिक ७ मा साबकोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा बोटलर्स नेपालमा रहेको निहित सेयर स्वामित्व परिवर्तन भएको हो । कोकाकोला साबको र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदा पुँजीगत लाभकर छलेको पाइएको हो । जसमा सेयर बिक्रीबापतको पुँजीगत लाभ, आयकर, शुल्क, ब्याजसमेतका आधारमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ छली भएको देखिएको विभागले जनाएको छ ।