प्रकाश सपुतले विवादित दृष्य हटाएर पुनः अपलोड गरे ‘पीर’

काठमाडौं । गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट विवादित दृष्य हटाएका छन् । उनले यो गीतलाई युट्युबमा आज हटाएर नयाँ अपलोड गरेका छन्। नयाँ अपलोड गरिएको भिडिओमा महिला लडाकुलाई यौनकर्मीका रुपमा देखाइएको दृश्य हटाइएको छ। गायक प्रकाश सपुतको गीत पीरमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनबारे कथावस्तु राखिएको छ । यो गीतबारे माओवादी कार्यकर्ताले चर्को आलोचना गरेका थिए ।

उनीहरुले महिला लडाकुलाई यौनकर्मीका रुपमा चित्रण गरिएकोतर्फ आपत्ति जनाउँदै हटाउन दवाव दिएका थिए । शुरुमा राखिएको गीत युट्युबमा १ करोड पटक भन्दा बढी हेरिएको थियो । प्रकाशले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत पनि गराएको उल्लेख गरेका छन् ।

तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह, समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको उनले बताएका छन् । उनले कुनै दबाब वा प्रभावमा भन्दा पनि यस बीचमा आएका प्रतिक्रिया, अग्रज स्रष्टाका सुझाव, समीक्षकहरूका समीक्षाले तथा सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गरेर भिडिओ हटाएको दावि गरेका छन् ।