काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अनुशासनहिनता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको चर्काचर्कीको समाचार बाहिर सार्वजनिक भएपछि प्रचण्डले पार्टीमा अनुशासनको विषय उठाएका हुन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरु जे मन लाग्यो, त्यही बाृल्दै हिड्ने गरेको बताए ।
सामुहिक निर्णय उल्टाएर एकल निर्णय लिने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन् ।
उक्त प्रवृत्ति सच्याउनु पर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।
प्रधानमन्त्री स्वास्थोपचारका लागि सिंगापुर जानु अगाडी बसेको नेकपा सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री र नेता नेपालबीच भनाभन भएको थियो ।
वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दैगर्दा प्रधानमन्त्रीले तपाईको शुभकामना चाहिँदैन भन्ने सम्मको अभिव्यक्ति दिएका थिए ।
त्यसपछि दुई नेताबीच चर्काचर्कीले उग्ररुप लिएको थियो । अर्कोतर्फ केही नेता सामाजिक सञ्जालबाट पनि भिडिरहेका छन् ।
खासगरी नेकपा भित्र पुरानो पार्टी निकट शीर्ष नेताको निकट रहेर अर्को नेताविरुद्ध टिकाटिप्पणी गर्ने प्रवृत्ति मौलाएको हो ।
उता, वरिष्ठ नेता नेपालले भने ओली र आफूबीचको भनाभनलाई श्रीमान श्रीमतीको झगडाको संज्ञा दिएका छन् ।
नेकपा नेता देवेन्द्र पौडेल सुनिलले पनि माधव नेपालको फरक मत नेकपाका लागि सम्पत्ति भएको उनले बताएका छन् ।