प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निश्चित

काठमाडौं । आगामी प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उठ्ने निश्चित भएको छ । उनी चितवन क्षेत्र ३ बाट यसअघि निर्वाचित भएका थिए । यस पटक पनि गठबन्धनबाट उनलाई उठाउन ठूलो जोडबल थियो । तर, कांग्रेस भित्रको गगन, शेखर समूहले असहयोग गर्ने देखिएसँगै प्रचण्ड सुरक्षित स्थानमा सरेका हुन् । नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र समेत गोरखा नै हो । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् ।

यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका हुन् । बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई ‘अन्तर हृदयदेखि स्वागत’ गरेको बताएका छन् ।

भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । उता, प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले षडयन्त्र चिर्न प्रचण्डले चितवन छाड्नु परेको बताएकी छिन् । यद्दपी त्यो कस्तो षडयन्त्र हो भन्ने चाँही उनले खुलाएकी छैनन् ।