काठमाडौं । सर्वोच्च अदालतबाट संसद विघटन बदर भएसँगै आज निर्धारित विरोध कार्यक्रमलाई नेकपा प्रचण्ड-नेपाल समूहले उत्सवका रुपमा मनाउने भएको छ । संसद विघटनविरुद्ध पार्टीको चौथो चरणका आन्दोलन जारी रहेका थिए । यसै सन्दर्भमा मंगलबार सर्वोच्च अदालतबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा फैसला आएसँगै विरोध सभा अब विजयी सभामा परिणत गर्न लागिएको हो ।
प्रचण्ड-नेपाल समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने पूर्वनिर्णय गरेको थियो । समूहले यस प्रदर्शनलाई उत्सवका रुपमा मनाउने भएको हो । संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिनेछ । कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल सहभागी हुनेछन् । सर्वोच्चको फैसला आउने दिन मंगलबार भने उनीहरु चितवनमा थिए ।