प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता भएको छ । बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको नेपाली सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् । जनता समाजवादी पार्टी भित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीच चरम विवाद उत्पन्न भएको छ ।

यसले पार्टी नै विभाजन हुने अवस्था आएको समयमा प्रचण्डसँग भएको भेटलाई महत्वका साथ हेरिएको छ । स्रोतका अनुसार बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग बाबुराम भट्टराईबीच सहमतिमै पार्टी विभाजन गर्ने सहमति भइसकेको छ । यस अवस्थामा सत्ता गठबन्धन समेत प्रभावित बन्छ । भट्टराईले २०७२ सालमा माओवादी त्यागेका थिए । पछिल्लो समय प्रचण्डले भने माओवादी खेमा एक ठाउँमा आउने वातावरण बनेको बताउँदै आएका छन् ।