काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कमलादीस्थित स्काईवाक टावर अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पोमा नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिए । पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्य सहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।
त्यस अवसरमा उनले टावरको २२औं तलामा रहेको स्काई रेस्टुरेन्टमा खाजा खाएका थिए । कुल ७८।५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्न पाइन्छ । यसैलाई स्काइवाक भनिन्छ । सिसामाथि हिँडेर साहसिक मजा लिन काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।
खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा
कम्पनीका अनुसार स्काइवाक मार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तला अग्लो टावरमा २२ तलासम्म लिफ्टमा र बाँकी तीन तला सिँढीमार्फत जानुपर्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ । टावरको २५औं तला साहसिक तला हो । त्यहाँ पुगेपछि सिसा ओच्छ्याइएको भुइँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला आकासमा हिँडे जस्तो अनुभव हुन्छ ।