प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिगमनका विरुद्धमा हुने आन्दोलन शान्तिपूर्ण गर्न सबै दल तथा संस्थालाई आह्वान गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो आह्वान गरेका हुन् । उनले जनतालाई दुख नदिने गरी शान्तिपूर्ण आन्दोलनमा लाग्न सबैसँग अपिल गरेका हुन् ।


प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार प्रदर्शनको कार्यक्रम राखेको छ । यसअघि नेकपालको प्रचण्ड, नेपाल समुहले बिहीबार नेपाल बन्द आयोजना गरेको थियो । त्यसको प्रभाव आजको प्रधानमन्त्रीले गरेको प्रदर्शनमा समेत देखिएको छ । सरकारले अपेक्षा गरेभन्दा निकै कम मात्र मानिस काठमाडौं आएका छन् ।

उता, कांग्रेसले शनिबार आयोजना गरेको प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति निकाल्दै सडकबाट सालिन ढंगले विरोध गर्न आह्वान गरेको हो । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आएको स्मरण प्रवक्ता शर्माले गरेका छन् ।

उनले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना नगरेको समेत बताएका छन् । संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न कांगे्रस दृढ रहेको उनले बताए ।