काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०–८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो ।
अघिल्लो आवमा यस महिनामा दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा चार गुणाले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार साउनमा ६० वटा उद्योगमा आएको वैदेशिक लगानीमध्ये ५४ साना उद्योग, चार वटा मध्यम किसिमका र दुई वटा ठुला उद्योग रहेका छन् । प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा धेरै पर्यटन क्षेत्र, सेवामूलक क्षेत्रका उद्योगमा बढी भित्रिएका छन् । वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये उत्पादनतर्फका चार, सूचना प्रविधितर्फका एक, पर्यटनतर्फका २८, सेवामूलकतर्फका २६ र कृषितर्फका एक रहेका छन् ।