एजेन्सी
जर्ज फ्लोएडको मृत्यु प्रकरण पछि एक हप्तादेखि भड्किएको प्रदर्शनको बिषयमा सोमबार बिहान अमेरिकाका बिभिन्न्न राज्यका गभर्नरसँग छलफल गरेका राष्ट्रपति ट्रम्पले गभर्नरहरुलाई ‘कमजोर’ भन्दै कडारुपमा प्रस्तुत हुन भनेका छन् । देशभर केही हिँसात्मक कृयाकलाप सहित जारी प्रदर्शनबाट एकाएक अशान्त भएको अमेरिकाको सुरक्षा लगायतको बिषयमा राज्यका गभर्नरहरुसँग भिडियो कन्फरेन्स गरेका ट्रम्पले स्थानीय नेताहरुलाई कडारुप प्रस्तुत हुन भनेका हुन् । राष्ट्रियरुपमा फैलिएको प्रदर्शनमा स्थानीय गभर्नरहरुले प्रदर्शन दबाउन असक्षम भएको भन्दै ट्रम्पले उनिहरुको आलोचना गरेको एपि न्युजले लेखेको छ ।
कानून कार्यान्वयन अधिकारी र राष्ट्रिय सुरक्षा अधिकारी सहित भिडियो कन्फरेन्स बैठकमा बसेका ट्रम्पले देशभरका गभर्नरलाई ‘अझै कडारुपमा प्रस्तुत हुनु पर्यो । तपाईंहरु सबै कमजोर हुनु भयो । प्रदर्शनकारीहरुलाई पक्राऊ गर्नु पर्यो’ भनेको एपिले लेखेको छ । ट्रम्पले प्रदर्शनकारीलाई १० बर्ष जेलमा राख्नु पर्ने अनि यस्तो अशान्ति कहिल्यै नहुने सल्लाह गभर्नरहरुलाई दिएका छन् ।
राष्ट्रपति ट्रम्पसंगै गभर्नरहरुसँग भिडियो कन्फरेन्समा बसेका महाधिबक्ता बिल बारले “ज्वाईन्ट टेरोरिस्ट टास्क फोर्स” परिचालन गरेर प्रदर्शन नियन्त्रण गर्नु पर्ने सुझाब दिएका थिए ।
राष्ट्रपति ट्रम्प आईतबार कुनै पनि सार्वजनिक समारोहमा देखिएनन् । सोमबार पनि राष्ट्रपतिको कुनै सार्बजनिक कार्यक्रम राखिएको छैन ।