जनकपुर । राष्ट्रपतिबाट शुक्रबार प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समुह अन्तर्गतको युवा संघले १ सय १ किलाको माला लगाएर स्वागत गरेको छ । कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका उनलाई युवासंघले उक्त माला पहिराएको हो ।
आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरे । त्यसक्रममा उनलाई १ सय १ किलाको माला पहिराएको हो । उनीहरुले विमानस्थलमा प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावादजस्ता नारा लगाएका थिए ।
उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहले स्वागत गरे । तिलक परियारलाई हटाएर राष्ट्रपतिले झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । सरकारको यस कार्यको आलोचना भइरहेको छ । यसअघि परियार प्रदेश प्रमुख बनी जनकपुर जाँदा भने मुख्यमन्त्री लालबाबु राउतसहित उच्च पदस्थ अधिकारी नै विमानस्थल पुगेका थिए ।