काठमाडौं । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाउन तयारी गरिरहेको खुलेको छ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारी स्वयमःले यस्तो तयारीबारे खुलासा गरेका हुन् । शुक्रबार एक अन्तरक्रियामा बोल्दै दुबै सांसदले यस्तो जानकारी गराएका हुन् ।
नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत कदम हुने बताए । अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नहुने भन्दै उनले जबराविरुद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने बताए । सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्युत गर्न सकिने आधार पर्याप्त रहेको उल्लेख गरे ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सङ्घीय संसद् बैठक आह्वान भएको खुलासा गरे । दलहरूले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको बताउँदै उनले प्रधानन्यायाधीश जबरालाई भविष्यमा राज्यबाट कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी संसदीय समितिले छानबिन गर्ने उल्लेख गरे ।