प्रधानमन्त्रीका कारण जसपामा भाँडभैलो, महन्थले उपेन्द्रलाई सोधे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने निर्णय महन्थ ठाकुर र राजन्द्र महतो समूहले गरेसँगै जनता समाजवादी पार्टीमा भाँडभैलो शुरु भएको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई सोधेको स्पष्टीकरण नआउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।


मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषय उल्लेख छन् ।


जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर सोही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक एकल अध्यक्षतामा डाकेका थिए । यस सम्बन्धमा समेत यादवसँग स्पष्टीकरण सोधिएको छ । पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पठाउन समय दिइएको छ ।