काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद विघटन गर्ने गरी चालेको असंवैधानिक कदमको औपचारिक धारणा बनाउन अझै सकेको छैन । यसले कांग्रेस भित्र समेत असन्तुष्टी तिब्र बन्दै गएको छ । खासगरी सभापति शेर बहादुर देउवाको मौन समर्थनमै प्रधानमन्त्रीबाट पछिल्ला कदम चालेको आशंका कांग्रेस भित्रै गर्न थालिएको छ ।
मंगलबार पार्टीका तर्फबाट धारणा बनाउन बसेको केन्द्रीय समिति बैठक विना निष्कर्ष सकियो । बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने भएको हो ।
बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुने पार्टी सचिवालयले जनाएको छ । सडक आन्दोलन गर्ने वा प्रधानमन्त्रीको कदमलाई स्वीकार गर्दै पार्टीलाई चुनावमा लैजाने भन्ने निचोडमा पुग्न कांग्रेसलाई मुस्किल परेको छ ।
यद्दपी मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टमा भर पर्न नहुने भन्दै ओली कदमविरूद्ध प्रतिरोधमा जानु पर्ने बताए ।
कांग्रेसले ११७ जना केन्द्रीय सदस्यकै धारणाबाट निर्णयमा पुग्ने बताएको छ । कांग्रेसले निर्णय ढिला दिने र त्यतिन्जेल प्रधानमन्त्री ओलीको कदमविरूद्ध सर्वोच्चमा परेको रिटको समेत आदेश आउने भएकाले सोही रणनीति अपनाउन लागेको बताइएको छ ।