प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘हालसम्मको अनुसन्धानले कहीँकतै उहाँ (रवि लामिछाने) सहकारी ठगी प्रकरणमा जोडिएको देखाएको छैन’, उनले भने, ‘सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको उजुरीमा सहकारीको रकम हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण पनि पेश भएको छैन।’

प्रधानमन्त्रीले रवि लामिछाने प्रतिपक्षमै रहेका बेला सो सहकारी प्रकरणको अनुसन्धान भएको र उनको भूमिका कतै नदेखिएको भन्दै अहिले सरकारमा सहभागी भएका बेला स्वार्थको द्वन्द्व हुने भनी कांग्रेसले उठाएको प्रश्नको औचित्य नरहेको बताए ।