काठमाडौं । संसद विघटनबाट जनताबीच अलोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई विकासवादी नेता स्थापित गर्न लागि परेका छन् । पछिल्लो समय राज्यस्रोतको दोहन गर्दै उनी शिलान्यासमा बढी केन्द्रित छन् । किनकी उनको तिनवर्षे कार्यकालको अवधिमा कुनै पनि आयोजना सम्पन्न हुन सकेका छैनन् । सोहीकारण उनल पूर्वतयारी समेत नसकिएका आयोजनाहरुको समेत धमाधम शिलान्यास गरिरहेका छन् ।
यसै सिलसिलामा उनी आज मोरङ र झापा जाने कार्यक्रम तय भएको छ । झापा उनी यो साता मात्र दोस्रो पटक जान लागेका हुन् । व्यापारी दुर्गा प्रसाईले निर्माण गरी एक वर्ष अगाडी नै संचालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा प्रधानमन्त्री आज विर्तामोड जाने भएका छन् । आजै सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा निर्माण गर्न लागेको सन्थाल जातिको एकीकृत बस्तीको शिलान्यासमा समेत पुग्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत सन्थाल बस्ती निर्माणको लागि गुरुयोजना बनेको छ । रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण हुने भएको हो । बस्ती निर्माणको लागत ३० करोड अनुमान गरिएको छ ।