प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका करीव एक दर्जन प्रश्न सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

संसद स्थगित भएको अवस्थामा प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्नहरु आफुले सामाजिक संजालबाटै सोधेको उनको भनाई छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले कूल ११ प्रश्न सोधेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्रीकै सम्बोधनको सेरोफेरोमा रहेर सांसद थापाले बुधबार यी प्रश्न सार्वजनिक गरेका हुन् ।

संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको उनको भनाई रहेको छ । उनले कोरोनाभाइरस संक्रमण जोखिमसँग जुध्न सरकारको तयारी फितलो रहेको प्रतिक्रिया समेत दिएका छन् ।

परीक्षण किट गुणस्तरहीन भएको भन्दै उनले परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी के छ भनेर सोधेका छन् ।

दार्चुलापारि धार्चुलास्थित भारतीय भूमिमा नेपाली असुरक्षित रहेको भन्दै थापाले उनीहरुलाई नेपाल ल्याएर अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा के सोचेर जीवन या वैयक्तिक स्वतन्त्रतामध्ये एक रोज्न आग्रह गरेको हो भन्नेबारे पनि थापाले प्रश्न गरेका छन्।

‘के वैयक्तिक स्वतन्त्रताविनाको जीवन कल्पना गर्न सकिएला ?,’ थापाको प्रश्न रहेको छ ।

थापाले विदेशमा रहेका नेपालीको अवस्थाबारे के भइरहेको छ भन्नेबारे पनि प्रश्न राखेका छ । कृषिको काममा भएका व्यवस्था, सुरक्षाकर्मीको सुरक्षाजस्ता विषयलाई समेत सांसद थापाले चासो दिएका छन् ।