‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन, ओलीले संसदको हत्या गरे’- माधवकुमार नेपाल

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको बताएका छन् ।

जनता समाजवादी पार्टीले बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको समेत बताएका छन् ।

नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । ‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने। प्रधानमन्त्री ओलीलाई माया लागे नेकपा ओली गुट भन्न पनि उनले आग्रह गरेका थिए।

‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो।

उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन। तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं।’ उनले ओलीको अधिनायकवादी प्रवृत्तिप्रति संघर्ष जारी रहेको पनि बताएका छन्।