काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो । संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकपछि बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लघंन गरेको संघीय संसद सचिवालयको आरोप छ।
सचिवालयका अनुसार पत्रकार श्रेष्ठ र ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा तानाशाह र हिटलरजस्ता अमर्यादित शब्द प्रयोग गरेका थिए । संसद्का महासचिवको निर्णयअनुसार उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ । प्रकाश ओली सुनौलो नेपाल र किशोर श्रेष्ठ युवा मन नेपालमा कार्यरत छन् ।