प्रधानमन्त्रीले आइतबार कोभिड खोप लगाउने, शुरु हुँदै दोस्रो चरणको खोप अभियान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने निश्चित भएको छ । संसारका अधिकांश मुलुकमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखले खोप लगाएर अभियानको प्रारम्भ हुने गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म लगाएका थिएनन् । उनले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका हुन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा ललितपुरमा आयोजित कोभिड १९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यस बारे जानकारी गराएका हुन् । उनकाअनुसार आइतबार बिहान संवैधानिक निकायका प्रमुखले समेत खोप लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले खोप लगाएपछि आइतबारबाटै कोरोनाविरूद्धको खोप लगाउने अभियानको दोस्रो चरणको काम सुरू हुनेछ।

सरकारले दोस्रो चरणमा ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउने योजना बनाएको छ । कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगाएत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरिकाले जनतासम्म लैजाने काम भइरहेको जनाएका छन् । आइतबार नै कोभिड १९ विरूद्धको कोभ्याक्स खोपको पहिलो खेप नेपाल आउने भएको उनले जानकारी दिए ।

सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने उनको भनाई छ ।