प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान देशवासीलाई दिएको दशैंको शुभकामना विवादमा परेको छ । उनले शुभकामना सन्देशमा राखेको नेपालको निशान छापमा पुरानो नक्सा प्रयोग भएको छ । यसमा भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्‍पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ नक्सा भने छैन ।

सरकारले निकै तामझामसहित ल्याएको नयाँ नक्सालाई प्रधानमन्त्री स्वयमःले गरेको उपेक्षालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीलाई अहिले सामाजिक संजालबाट निकै प्रश्नहरु आइरहेका छन् ।

संसदबाट संविधान संशोधन गरेर नयाँ नक्सा निशान छापमा परिसकेको अवस्थामा प्रधानमन्त्री स्वयले यसको उपेक्षा गरेका हुन् । यसबाट प्रधानमन्त्रीको राष्ट्रवाद केवल देखावटी मात्र भएको भन्दै आलोचना भइरहेको छ । यसअघि यसै साता प्रधानमन्त्रीले भारतीय गुप्तचर रअका प्रमुखलाई भेटेपछि उनको चर्को आलोचना भइरहेको छ ।