प्रधानमन्त्रीले भेटे जसपाका उच्च नेता, के आयो निष्कर्ष ?

काठमाडौं । परिवर्तित परिस्थितिमा आफ्नो सत्ता जोगाउन कसरत गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा सत्ता साझेदारीको विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमाले र जनता समाजवादी पार्टीका उच्च नेताहरुबीच छलफल भएको जानकारी दिएका छन् ।

उनले भेटघाट सकारात्मक रहेको समेत उल्लेख गरेका छन् । उनका अनुसार शुक्रबार समेत यी दुई पार्टीको कार्यदलस्तरमा छलफल हुने भएको छ । प्रधानमन्त्रीले सरकारमा जसपाको समर्थन चाहेका छन् । माओवादी केन्द्रबाट समर्थन फिर्ता भएको अवस्थामा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । त्यसो त जसपालाई मनाउन माओवादी केन्द्रले समेत छलफल तिब्र बनाएको छ । जसपाले भने आफ्ना माग र एजेण्डा जसले पुरा गर्छ, सोही दललाई समर्थन गर्ने बार्गेनिंगमा रहेको छ ।