प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो ।

नियम निलम्बनका लागि नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्ताव राखेका थिए । लेखकको प्रस्तावलाई नेकपा (एमाले)का सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले समर्थन जनाएका छन् । नियमावली आज एक दिनका लागि मात्र निलम्बन गरिएको हो ।

लेखकले राखेको प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको सर्वसम्मतिबाट पारित भयो ।